बिबिध

अन्तर्राष्ट्रिय सीमानाका असोज ३० गतेसम्म बन्द

Lumbinikhabar Online

सरकारले कोभिड १९ को जोखिम न्यूनिकरणका लागि बन्द गर्दै आएको अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म जारी राख्ने निर्णय गरेको छ । तर भारत र चीनमा समस्यामा परेका नेपालीलाई प्रवेशका लागि थप ३ नाकामा आवागमन स्वीकृति दिइएको छ ।

सोमबार बसेको मन्त्रिपरिद् बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाका सबै विन्दु र खुला सीमानाको जुनसुकै स्थानबाट असोज ३० सम्म प्रवेश निषेध गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । कोरोना संक्रमण रोक्न सरकारले अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय यही भदौ ३१ सम्म कायम थियो ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले सबै अन्तर्राष्ट्रिय नाकाहरुमा प्रवेश निषेध गरिए पनि समस्यामा परेका नगारिकलाई निश्चित नाकाबाट आउन दिने बताए । उनले यसअघि छिमेकी देशहरुबाट १० वटा नाकाबाट समस्यामा परेका नेपालीलाई प्रवेश दिइएकोमा सोमबारको बैठकले थप ३ नाकालाई आवागमनलाई स्वीकृति दिइएको जानकारी दिए ।

प्रवक्ता ज्ञवालीले भारतमा समस्यामा परेका नागरिकलाई थप दुई नाकाबाट प्रवेशका लागि स्वीकृति दिने निर्णय गरिएको जानकारी दिए । उनले इलामको पशुपतिनगर र दार्चुलाको खलंगा पुलघाँट नाकाबाट समेत अब नेपालीहरु फर्कन पाउने बताए । यसअघि भारतबाट १० नाकाबाट प्रवेश अनुमति थियो ।

मन्त्री ज्ञवालीले चीनतर्फ रसुवागढी प्रवेश विन्दुबाट समेत समस्यामा परेका नेपालीलाई आउन दिने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?