टप खबर

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

Lumbinikhabar Online

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै पहिचान बनाउँदै आएका लोकप्रिय वरिष्ठ गायक आनन्द कार्की नयाँ गीत ‘ईटहरीको बजारमा’ लिएर दर्शकमाझ आएका छन् । गायिका गंगा खनालसँगको युगल स्वरमा तयार गरिएको उक्त गीत तथा म्युजिक भिडियो आनन्द कार्की अफिसियल नामक आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जाल तथा युट्युबमा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । विशेषगरी गीतको आकर्षक प्रस्तुति, मौलिक स्वाद, आधुनिक संगीत संयोजन तथा भिडियोको भव्य निर्माणले दर्शक तथा संगीतप्रेमीहरूको ध्यान तानिरहेको छ ।

पूर्वी नेपालको चर्चित शहर ईटहरीलाई केन्द्रमा राखेर तयार गरिएको ‘ईटहरीको बजारमा’ बोलको गीतमा प्रेम, रमाइलोपन र आधुनिक सामाजिक परिवेशलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ । गीतमा वरिष्ठ गायक आनन्द कार्कीको परिपक्व स्वर र गायिका गंगा खनालको मिठासपूर्ण आवाजको संयोजनले गीतलाई अझ विशेष बनाएको छ ।

गीतका शब्द श्रीकृष्ण लुईंटेलले सिर्जना गरेका हुन् भने संगीत लक्ष्मण शिशले तयार गरेका छन् । संगीत निर्माण अर्जुन कटुवालले गरेका हुन् । गीतको मिक्सिङ तथा मास्टरिङ पुखराज सोनकारले गरेका छन्, जसले गीतलाई उच्चस्तरीय श्रव्य अनुभव दिएको छ ।

म्युजिक भिडियोतर्फ कलाकार विजयु पार्की र खुशी कार्कीको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन स्वयं विजयु पार्कीले गरेका हुन् । भिडियोमा अनीश तामाङ एण्ड टिमको छायांकन रहेको छ भने सम्पादन तथा कलर डिन्सन शाहले गरेका छन् । रोशन विश्वकर्माको कोरियोग्राफीले भिडियोमा थप ऊर्जा भरेको देखिन्छ ।

त्यस्तै, निर्माण व्यवस्थापन लक्ष्मण भण्डारी र सुब्राज कार्कीले सम्हालेका छन् भने पोस्ट प्रोडक्सन क्याच स्टुडियोमा गरिएको हो । कलाकारहरूको पोशाक डिजाइन तथा मेकअप ज्योति केसीले गरेकी छन् । सम्पूर्ण टिमको मेहनत र व्यावसायिक प्रस्तुतिका कारण भिडियो अझ आकर्षक र स्तरीय बनेको दर्शकको प्रतिक्रिया छ ।

पोस्टर सार्वजनिक भएदेखि नै गीतप्रति दर्शकमाझ उत्सुकता बढिरहेको थियो । पोस्टरमा देखिएको आनन्द कार्कीको करिश्म्याटिक शैली, नेपाली सांस्कृतिक झल्को दिने पृष्ठभूमि तथा आकर्षक डिजाइनले गीतको चर्चा अझ चुलिएको थियो । अहिले भिडियो सार्वजनिक भएसँगै दर्शकहरूले सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गर्दै सकारात्मक प्रतिक्रिया जनाइरहेका छन् ।

नेपाली संगीत क्षेत्रमा निरन्तर सक्रिय आनन्द कार्कीले यस गीतमार्फत फेरि एकपटक आफ्नो सांगीतिक क्षमता र लोकप्रियता प्रमाणित गरेका छन् । ‘ईटहरीको बजारमा’ आगामी दिनमा नेपाली संगीत बजारमा अझ चर्चित बन्ने अपेक्षा गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?