आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी यहाँ चुनावी गतिविधि सञ्चालन भइरहेका छन् । जिल्लामा हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी १६ वटा उजुरी परेका हुन् ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले आचारसंहिता उल्लङ्घनका १६ वटा उजुरी परेका बताउँदै त्यसमा सम्बन्धित पक्षसँग मौखिक स्पष्टिकरण लिई आचारसंहिताको कार्यान्वयनका लागि सचेत गराइएको जानकारी दिए।
तनहुँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार श्रीराम न्यौपानेद्वारा केही सामुदायिक विद्यालयमा वितरण गरिएको डिजिटल स्मार्ट बोर्डमा तस्बिर-संकेत भएका बारेमा उजुरी परेपछि उक्त बोर्डबाट न्यौपानेको फोटो हटाउन लगाइएको प्रजिअ तिवारीले बताए।
उनका अनुसार सोबाहेक राजनीतिक दलले भीड प्रर्दशनी गरेको, झण्डा धेरै प्रयोग गरेको, सरकारी कर्मचारी पनि निर्वाचनको प्रचारमा हिडेकोलगायत विषयमा उजुरी परेका छन् ।
उजुरीका बारेमा सम्बन्धित पक्षलाई सचेत गराई आचारसंहिता पालना गर्न अनुरोध गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले उल्लेख गरे। निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न-गराउन सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा उनले जोड दिए।

