नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका लागि चुनाव लड्न आएको बताएका छन् । यसअघि काठमाडौँ–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ मा उम्मेदवार बनेका छन् ।
आजबाट चुनावी अभियान सुरु गरेका थापाले एक कार्यक्रममा भने, ‘म यहाँ नेता होइन, बेटा बन्न आएको हुँ ।’
सर्लाही आइपुगेपछि थापाले आफ्नो निर्वाचन क्षेत्रका नेता कार्यकर्ता सँग भेटघाट गर्दै आफ्नो राजनीतिक यात्रा सेवा र संवादमै केन्द्रित रहने बताए। धनकौल गाउँपालिका–२ मा आयोजित कोणसभामा उनले आफू फोटो खिचाउन वा हात हल्लाउन मात्रै नभई जनताको सेवक बनेर काम गर्न आएको बताए ।
मधेसलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न नसकिने धारणा राख्दै थापाले दिवंगत नेता प्रदीप गिरिको संगतबाट मधेस बुझ्ने अवसर पाएको बताए ।

