भाद्र २२- बिहीबार ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीलाई निर्घात कुटेको अभियोगमा पक्राउ परेका १६ जनामध्ये दुई जनालाई कोरोना संक्रमण पुस्टि भएको पाइएको छ। पक्राउ परेका १६ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गराएकामा दुई जनामा कोभिड- १९ पुष्टि भएको ललितपुर महानगरीय प्रहरी परिसर स्रोतले जानकारी दिएको छ।
परिसरका प्रमुख, एसपी टेकबहादुर राईका अनुसार अहिले पक्राउ परेका मानिसलाई पहिलेदेखि नै क्वारेन्टिन (अलग-अलग) मा राखिन्छ र स्वाब संकलन गरी पीसीआर परीक्षण गराइन्छ। त्यसको रिपोर्ट आएपछि मात्र उनीहरूलाई म्याद थपका लागि अदालत लगिन्छ। यसै क्रममा दुई अभियुक्तमा कोरोना पुष्टि भएको परिसर स्राेतले जनाएकाे छ।