टप खबर

चीन कुनै पनि धम्की दिने व्यक्तिसँग डराएको छैन र सधैँ अगाडि बढेकोछ: चिनीयाँ राष्ट्रपति सी

Lumbinikhabar Online

चीनले ८०औँ विजय दिवसका अवसरमा आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको छ।  आज (सेप्टेम्बर ३) का दिन चीनले विजय दिवसमा सैन्य शक्ति देखाएको हो ।  राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेपछि विशाल सैन्य परेड प्रदर्शन गरिएको हो। जसमा आणविक–सक्षम अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र पनि छन्।

बीबीसीका अनुसार विभिन्न प्रकारका छोटोदेखि मध्यमसम्म दूरीका क्षेप्यास्त्र, बहुप्रक्षेपण रकेट प्रणाली र मानवरहित लडाइँ हवाई सवारीसाधन  देखाइएका छन् । जसमा हाइपरसोनिक ग्लाइड सवारीसाधन, वाईजे–२१ एन्टी–सिप क्रुज मिसाइल र जेएल–३ पनडुब्बी–प्रक्षेपित ब्यालिस्टिक मिसाइल पनि छन्।

डीएफ–५सी पनि प्रदर्शन गरिएको छ, जुन चीनको डोङफेङ–५ आणविक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आईसीबीएम)को नयाँ संस्करण हो।

यसैबीच चीनका राष्ट्रपति सी चिनफिङले देशको विजय दिवस परेडमा चीन कहिल्यै कुनै पनि धम्कीसँग नडराएको र नडराउने बताएका छन्।  ‘कमरेड तथा साथीहरू, हामी चीनको विजयको ८०औँ वार्षिकोत्सव मनाउन भेला भएका छौँ’, सीले भने, ‘इतिहासले हामीलाई चेतावनी दिन्छ– मानवता सँगै उठ्छ र पतन हुन्छ। चीन कहिल्यै पनि कुनै पनि धम्की दिने व्यक्तिसँग डराएको छैन र सधैँ अगाडि बढेको छ । यो नयाँ यात्रा, नयाँ युग हो।’

सीले दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले चीनमा आत्मसमर्पण गरेको ८०औँ वार्षिकोत्सव मनाउन चीनको सबैभन्दा ठूलो सैन्य परेड आयोजना गरेका हुन्। उनले चिनियाँ जनतालाई इतिहास सम्झन र जापानविरुद्ध लडेका दिग्गजहरूलाई सम्मान गर्न आग्रह गरे।

परेडअघि सी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन सँगै देखिएका थिए।

Tags

छुटाउनु भयो कि ?