टप खबर

माधव नेपालले झलनाथलाई भनेः ओलीको सेवा गरेर एमालेमै बस्दा हुन्थ्यो

Lumbinikhabar Online

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सम्मानित नेता झलनाथ खनालविरुद्ध फेरि आक्रामक अभिव्यक्ति दिएका छन् । नेपालले खनाललाई फेरि पार्टी छोडेर एमालेमा जान भनेका छन् ।

शुक्रबार काठमाडौंमा समाजवादी निकट उद्योगी–व्यवसायीको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले खनालमाथि पार्टीको बद्ख्वाइँ गरेको र मिडियामा अनावश्यक टिप्पणी गरेको आरोप लगाए।

‘यदि विद्रोहको औचित्य थिएन भने ओलीको सेवा गरेर एमालेमै बस्दा हुन्थ्यो,’ उनले खनालतर्फ संकेत गर्दै भने ‘पार्टी बनाउने हो भने संगठन देखाउनु पर्छ, जनतामा जानुपर्छ, चुनौतीको सामना गर्नुपर्छ। जनताको माझ नगई कसरी पार्टी बन्छ?’

उनले पार्टीको पक्षमा पार्टीको प्रतिष्ठा बढाउन, पार्टीको हितको रक्षा गर्न, पार्टीको निर्णय परिपालना गराउनका लागि सबै लाग्नुपर्ने बताए । ‘हामीले पार्टीको विरोधमा जाने होइन । मिडियामा गएर पार्टीको बद्ख्वाइँ गर्ने होइन’, उनले भने, ‘मिडियामा जाने, विद्रोहको औचित्य छैन भनेर किन कराएको ? यदि विद्रोहको औचित्य थिएन भने एमालेमै केपी ओलीको सेवा गरेर बसे भइगयो नि त।’

उनले एमालेबाट भएको विद्रोह ठीक रहेको बताए । ‘हामीले विद्रोह गरेर ठीक गर्यौँ, हामीले विद्रोहपछि पहिलो गाँसमै ढुंगा होइन, सुनको सिक्का पायौँ’, नेपालले भने ।

नेपालले एमालेबाट अलग भएर नयाँ पार्टी बनाउनुको औचित्य पनि स्पष्ट गरे। ‘हामीले विद्रोह गरेँ, राजनीतिक र कानुनी लडाइँ दुबै जित्यौँ। कांग्रेसलाई फकाएर संविधानको रक्षा ग¥यौँ,’ उनले भने, ‘गौरवका साथ भन्छु, त्यो विद्रोह ठिकै थियो ।’

नेपालले नेतृत्वको पुस्तान्तरणको सन्दर्भमा आफू अहिले ७२ वर्षको भएको भन्दै अब दोस्रो पुस्तालाई ठाउँ दिनुपर्ने धारणा राखे। उनले मोहन गौतम र आलोक रायमाझी जस्ता युवा नेताहरूको नाम उदाहरणकै रूपमा अघि सारे।

Tags

छुटाउनु भयो कि ?