चीनको सांघाई वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई यही साउन १० गते सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एआईका उपलब्धिहरूको पहुँचमा समानताको वकालत गरेका छन्।
मन्त्री पृथ्वीसुब्बा गुरुङले यस सन्दर्भमा भने, “एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनु पर्छ। हामी विकासशील राष्ट्रहरूका लागि कम्प्यूटिङको शक्ति, ओपन मोडलहरू र डेटा सेटहरू प्रदान गर्न अन्तर्राष्ट्रिय सहयोगको आग्रह गर्छौँ।”
विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन २०२५ र विश्वव्यापी एआई शासनसम्बन्धी उक्त उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री पृथ्वीसुब्बा गुरुङले पारदर्शिता, समावेशिता, जबाफदेहिता र एआईको गैर-सैन्यीकरणलाई प्रवर्द्धन गर्ने संयुक्त राष्ट्रसङ्घको नेतृत्वको चार्टरलाई समर्थन गर्ने बताए।
सम्मेलनमा सम्बोधन गर्दै मन्त्री गुरुङले भने, “एआईले हाम्रो अर्को पुस्तालाई सशक्त बनाउनुपर्छ। हामी विश्वव्यापी रूपमा एआई साक्षरता र नैतिक नवप्रवर्तन प्रवर्द्धन गर्न विश्व एआई शिक्षा कोषका लागि आह्वान गर्छौँ।“
सम्बोधनका क्रममा मन्त्री पृथ्वीसुब्बा गुरुङले एआईमा नेपालको दृष्टिकोण, समावेशी तथा मानव-केन्द्रित विकासका लागि एआई रहेको बताए। उनले भने, “नेपाल डिजिटल छलाङको सीमामा उभिएको छ। अन्तिम स्वीकृतिको चरणमा रहेको हाम्रो राष्ट्रिय एआई नीतिले हाम्रा राष्ट्रिय प्राथमिकताहरूसँग तारतम्य मिलेको समावेशी र नैतिक एआई इकोसिस्टमको परिकल्पना गरेको छ।”

