सर्लाहीको हरिपुर्वामा एक भारतीय नागरिकको घाँटी काटी हत्या गरेको आरोपमा अर्का एक भारतीय नागरिक लालबन्दीबाट पक्राउ परेका छन् । यसअघि सोही मुद्दामा एक जना भारतीय कारागार चलान भइसकेका छन् ।
वैशाख २७ गते हरिपुर्वा नगरपालिका–१ मा भारतको सीतामढी जिल्ला सोनवर्षा ग्रामपञ्चायत–९ का २७ वर्षीय सिकु कुमारको घाँटी काटी विभत्स रुपमा हत्या गरिएको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार बिहान लालबन्दी बजारबाट भारत सीतामढी जिल्ला सोनवर्षा ग्रामपञ्चायत–३ का २५ वर्षीय मनिष चौधरीलाई नियन्त्रणमा लिएको हो । यसअघि सोही ठाउँका २६ वर्षीय राजेश महतो सुढीलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार चलान गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भारतमा व्यापारिक कारोबारका क्रममा एक अर्काबीच अविश्वास भइ मनमुटाव हुँदा सुढीले योजनावद्ध तरिकाले हत्या गर्न लगाएको खुलेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार हत्यामा संलग्न अन्य ३ जना भारतीय नागरिक अझै फरार छन् ।