पूर्वी पहाडी जिल्ला संखुवासभामा गायन क्षेत्रको प्रतिभावान नयाँ गायक गायिकाको खोजी गर्ने उद्देश्यले ‘संखुवासभा आइडल’ हुने भएको छ।
सदरमुकाम खाँदबारीमा आइतबार पत्रकार सम्मेलन आयोजना गरी तेस्रो संस्करणको ‘संखुवासभा आइडल’ यही भदौ १६ गतेबाट सुरु हुन लागेको जानकारी दिइएको हो। जिल्लामा १० वर्षपछि तेस्रो सिजनको प्रतियोगिता सुरु हुन लागेको अरुण भ्याली इभेन्ट मेनेजमेन्ट प्रालिका अध्यक्ष देवेन्द्र घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार भदौको १६ गतेबाट खुल्ला रूपमा अडिसन सुरु हुनेछ। संखुवासभाका ९ ठाउँ मुडे, ओख्रे, चैनपुर, वाना, बाह्रबिसे, नुमबजार, चिचिला, बुधबारे, चाँदनीचौक, भोजपुरका– २ ठाउँ कुलुङ र दिङ्ला तथा इटहरी, गाईघाट र बिर्तामोड गरी १४ स्थानबाट अडिसन लिइने अध्यक्ष घिमिरेको भनाइ छ।
कला र संगीतको माध्यमबाट संखुवासभा जिल्लालाई विश्वभर चिनाउन प्रतियोगिताको आयोजना गरिएको कार्यक्रमका लगानीकर्ता तथा परिकल्पनाकार सुजनकुमार श्रेष्ठले बताए। उनले नयाँ प्रतिभाहरूको खोजी मात्र नभएर आन्तरिक पर्यटकहरूलाई समेत संखुवासभामा भित्र्याउने उद्देश्य रहेको बताए।
प्रतियोगिताको पहिलो चरणमा उत्कृष्ट सय प्रतिस्पर्धीहरू छनाेट गरिने प्रतियोगिताका संयोजक वीरबहादुर लिम्बूले जानकारी दिए। त्यसपश्चात् उत्कृष्ट ५०, ३०, २०, १५, १२, ५ र तीनजनाका दरले छनाेट हुँदै आउने संयोजक लिम्बूको भनाइ छ।
उत्कृष्ट तीनबाट विजेता घोषणा गरिनेछ। उत्कृष्ट २० बाट भोटिङ राउन्ड सुरु हुने आयोजकको भनाइ छ। यसपटक निर्णायक र भोटिङको ५०–५० प्रतिशत अंकभार रहने बताइएको छ। प्रतियोगिताका विजेताले उपाधिसँगै नगद तीन लाख रुपैयाँसहित एउटा गीत रेकर्ड र पाँचदिने भारत भ्रमणको अवसर प्राप्त गर्नेछन् । उपविजेता दुईजनाले नगद ५०–५० हजारसहित एउटा गीत रेकर्ड, पाँचदिने भारत भ्रमण र टोकन अफ लभ प्राप्त गर्नेछन्।
उत्कृष्ट पाँचभित्र पर्ने (विजेता र उपविजेताबाहेक दुईजनासहित)ले पनि एउटा–एउटा गीत रेकर्ड, पाँचदिने भारत भ्रमण र टोकन अफ लभ प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुन चाहनेहरूले भौतिक उपस्थितिमा फारम भर्नुपर्ने जनाइएको छ।