News in Nepali

दुर्गम भेगमा १२ बजेपछि उडान नगर्ने निर्णय खारेज गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

Lumbinikhabar Online

कर्णालीका विभिन्न जिल्लासहित दुर्गम भेगका विमानस्थलमा १२ बजेपछि उडान नगर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय खारेज गर्न सरोकारवालाले प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन् ।

प्राधिकरणले मौसमको कारण देखाउँदै दिउँसो १२ बजेपछि उडान रोकिरहेको छ । यसले नागरिकलाई आवतजावत गर्न सास्ती तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको गुनासो व्यवसायीको छ ।

जहाज कुर्दा हुम्लामा हाल सम्म २ जना बिरामीको ज्यानसमेत गइसकेको भन्दै उनीहरुले ‘अपरेशन आवर’ निर्णयलाई खारेज गरि स्थिति सहज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको हो ।

कर्णाली पर्यटन उद्यमी समाजको संयोजकत्वमा निर्णय खारेजीका लागि कर्णालीका नागरिक, सरोकारवाला र पर्यटन व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका हुन् । ‘नागरिकमाथि अन्याय भयो, आवतजावत ठप्प छ, ढुवानी भएका छैन र बिरामीले विमान कुर्दै ज्यान समेत गुमाइसकेका छन्,’ समाजका अध्यक्षसमेत रहेका पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले भने ।
समाजले निर्णय कार्यन्वयन भएसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराएको थियो । कर्णालीका जनप्रतिनिधिसँग समेत छलफल गरी निर्णय फिर्ता लिन सरकारसाग पहल गर्न आग्रह गरको थियो ।

Tags

छुटाउनु भयो कि ?