News in Nepali

रौतहटमा अवैध कपडासहित बस चालक र सहचालक पक्राउ

Lumbinikhabar Online

रौतहटमा भन्सार राजस्व छलेर राजधानीलगायत शहरमा कपडा तस्कर गर्न लागको अवस्थामा बस र चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले शनिबार राति बसमा लुकाएर राखेको २१ लाख रुपैयाँभन्दा बढीको अवैध कपडासहित चालक र सहचालकलाई पक्राउ गरेको हो ।

जिल्लाको यमुनामाई गाउँपालिका–५ इद्रिस गेटमा सवारी जाँच गर्ने क्रममा गौरबाट काठमाडौं जाँदै गरेको ना ४ ख ५१४४ नम्बरको शान्ति डिलक्स रात्रिबसको यात्रु बस्ने सिटमाथिको लाइट कम्पार्टमेन्टमा लुकाई राखेको २१ लाख ६४ हजार रुपैयाँको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरी नेपाल नम्बर ११ गणका प्रमुख एसपी माधव रेग्मीले जानकारी दिए ।

‘काठमाडौं जान लागेको बसमा अवैध कपडा तस्करी हुन लागेको भन्ने विशेष सूचना पाएपछि हाम्रो टोली साँझदेखि तैनाथी अवस्थामा थियो,’ उनले भने, ‘भारतबाट भन्सार राजस्व छलेर ल्याएका कपडाहरू राजधानी लैजान लागेको रहेछ । हामीले चालक, सहचालकलाई नियन्त्रणमा लिएर कारबाहीका लागि गौर भन्सार कार्यालय बुझाएका छौं ।’

Tags

छुटाउनु भयो कि ?