नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुको विकल्प नभएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सुन तस्करी प्रकरणले गृहमन्त्रीको असफलता देखाइसकेकाले राजीनामा दिनुको विकल्प नभएको बताए ।
राजीनामाबाहेक गृहमन्त्री आफैँ रोस्ट्रममा उभिन जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ‚ सुन भनेर पक्रिएर राख्यो‚ राखेको ठाउँबाट हराउँछ‚’ अध्यक्ष ओलीले भने, ‘गृहमन्त्रीको जवाफदेहीता होइन त्यो ? क्विन्टलका क्विन्टल सुन एउटा माध्यमबाट एउटा कम्पनीले ल्याएको छ । त्यस्ता कम्पनी कतिवटा छन् ?’
सुन तस्करीमा संलग्न भएका व्यक्तिलाई नागरिकता कसले दियो‚ त्यस विषयमा गरिएको छानबिन गायब गरिएको आरोप अध्यक्ष ओलीले लगाए ।
‘तार काट्ने क्यामेराको मुन्टो अर्कोतर्फ फर्काउने, घाटी मर्काउने कस्तो सरकार हो यो‚’ उनले भने ।