रुकुम पश्चिमको सुनचाँदी व्यवसायी संघले व्यापारी शोभाकुमारी सुनार सोनीलाई एक महिलाकी हत्या आरोपीसँगै प्रहरीले सार्वजनिक गरेकोमा आपत्ति जनाएको छ । प्रहरीले बिल नभएको सुन किनेको आरोपमा पक्राउ परेकी उनलाई हत्या आरोपमा पक्राउ परेकी सिर्जना बुढा बोहरासँगै सार्वजनिक गरेको थियो ।
गत साउन १९ गते राति रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ सल्लेमा अन्दाजी ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या आरोपमा साउन २२ गते जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको भनेरदुई जनालाई सार्वजनिक गरेको थियो । सँगै सार्वजनिक गरेपनि सुनार सुन किनेको आरोप र बोहरा हत्या आरोपमा पक्राउ परेका थिए । तर दुवैलाई एउटै कसुरमा पक्राउ परेको शैलीमा सार्वजनिक गरिएपछि व्यवसायीले आपत्ति जनाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार साउन १८ गते बिहीबार राति नै घटना घटेको भएपनि प्रहरीले भोलिपल्ट मात्रै थाहा पाएको थियो । हत्यामा संलग्न भनिएकी सिर्जनाले शोभाकुमारीको पसलमा १९ गते शुक्रबार नै ल्याएर सुन बेचेको डिएसपी भट्टराईले बताए ।
‘घटना घटेको भोलिपल्ट नै सुन किनबेच भएको छ । हामीले अनुसन्धान गर्दै जाँदा पहिला हत्यामा संलग्न भएको हुनसक्ने भनेर केही प्रमाणसहित सिर्जना बुढा बोहरालाई पक्राउ गर्यौं त्यसपछि सुन बेचेको ठाउँ पनि पत्ता लाग्यो,’ डिएसपी भट्टराईले भने, ‘कुनैपनि अपराध गरी ल्याएका सामान किनबेच गर्न नहुने स्पष्ट कानुनी व्यवस्था छ । त्यस विपरीत कार्य गरेको पाइएकाले शोभाकुमारीलाई पक्राउ गरिएको हो ।’
सुनचाँदी व्यवसायी संघ रुकुम पश्चिमका अध्यक्ष रविन सुनारले सुनचाँदी किनबेच गर्ने आफूहरुको व्यवसाय भएको भन्दै कुन सुन कसरी आउँछ आफूहरुलाई थाहा नहुने बताए ।
‘बेच्नेले कहाँबाट ल्याएको हो भन्ने कुरा त हामीले कसरी थहा पाउन सक्छौं र ! कसैले बेच्न ल्याएपछि व्यवसायीले किन्नु स्वभाविक त हो । यसकारण त्यससँग जोडिएको अपराधमा उसको संलग्नता हुने कुरा त हुँदैन नि !,’ उनले भने, ‘बिना बिल किनेकोमा गल्ती भयो मान्छौं तर बाहिर प्रचार यसरी गरियो कि मानौं शोभाकुमारी पनि हत्यामा संलग्न थिइन् । यसमा हाम्रो आपत्ति छ ।’
यस विषयमा सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुनारले ग्राहकले लामो समयसम्म सुन राख्दा बिल हराएको हुनसक्ने तर त्यसले बेच्न चाहेमा आफूहरुले खरिद गर्नुपर्ने बाध्यता भएको बताए । उनले शोभाकुमारीलाई हत्याराझैं प्रचार, व्यवहार र कारबाही गर्न नहुने आफूहरुको स्पष्ट धारणा रहेको बताए ।
सल्लेकै २३ वर्षीया बोहरालाई बुढाथोकीको हत्या गरी एउटा मोबाइल र सुनका गरगहना समेत लुटपाट गरेको भन्ने अनुसन्धानबाट पत्ता लगाएको बताउँदै प्रहरीले ती सुनका गरगहना किनेको आरोपमा मसिकोट–१ खलंगा बजारमा सुनचाँदी व्यवसाय गर्ने मुसीकोट–५ टटेला बस्ने शोभाकुमारी सुनार सोनीलाई अनुसन्धानका लागि प्रकाउ गरेको जनाएको छ । यस विषयमा डिएसपी भट्टराईले शोभाकुमारी हत्यामा संलग्न नभएको र उनलाई सुन किनेको आधारमा नै पक्राउ गरिएको र त्यसैअनुसार अनुसन्धान अघि बढेको स्पष्ट पारे ।