News in Nepali

सुन तस्करीबारे गहिरो अनुसन्धान गर्न सांसदहरूको माग

Lumbinikhabar Online

सांसदहरूले सय किलो सुन तस्करी प्रकरणको विस्तृत अनुसन्धान गरेर दोषीलाई दण्डित गर्न माग गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा उनीहरूले आगामी दिनमा घटना नदोहोरिने गरी अनुसन्धान गहिराइमा हुुनुपर्ने र संलग्न जोसुकैलाई दण्डित गर्नुपर्ने माग गरेका हुन् । यो प्रकरणको वास्तविकता बुझ्न समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाउने निर्णय पनि गरेको छ ।

समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले राज्य नै लुटपाटमा, भ्रष्टाचारमा लागेको र मुलुकको डरलाग्दो तस्बिर बाहिर आएकाले अर्काे बैठकमा गृहमन्त्रीसँग जवाफ लिने निर्णय भएको बताए । बैठकमा कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले सुन तस्करीमा जोसुकै संलग्न भए पनि छानबिनको दायरामा ल्याउनुपर्ने बताए ।

‘सुन कति समातियो होइन, कति उम्कियो ? राज्यसत्ताका वर्तमान वा पूर्वपदाधिकारीको संलग्नता छ कि छैन ? त्यसमा अनुसन्धान केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘घटनामा जोसुकै संलग्न हुन्, छानबिनको दायरामा ल्याउनुपर्छ ।’ शर्माले सदनको अवरोध हटाएर सुनकाण्डमा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने वातावरण बनाउन पनि माग गरे ।

रास्वपा सभापति रवि लामिछानेले सुनकाण्डको अनुसन्धान राजस्व विभागमै सीमित गर्नु उपयुक्त नहुने बताए । संगठित, अन्तर्देशीयलगायत विभिन्न अपराध जोडिएको भन्दै उनले पूर्वन्यायाधीश, सिआइबी र विज्ञहरू राखेर समिति बनाउन आवश्यक रहेको बताए । प्रधानमन्त्रीको सचिवालयमा बसेर आएका राजस्व अनुसन्धान विभागको महानिर्देशकको स्वार्थ बाझिने भएकाले बृहत् छानबिनको आवश्यकता बढेको उनको भनाइ थियो । प्रश्न उठिसकेपछि छानबिन हुनुपर्ने र निर्दाेष भए छानबिनले नै स्पष्ट पार्ने उनले ध्यानाकर्षण गराए ।

एमाले सांसद कृष्णगोपाल श्रेष्ठले सुनकाण्ड सामान्य विषय नभएकाले उच्चस्तरीय समिति बनाएर टुंगोमा पु¥याउनुपर्ने बताए । ‘यो विषय टुंग्याउन सकेनौँ भने हामी बेकम्मा हुन्छौँ । संसद्मै यो विषय अगाडि बढाऔँ,’ उनले भने । एमालेकै लीलानाथ श्रेष्ठले अहिलेको अनुसन्धानले टुंगोमा पु¥याउन नसक्ने भएकाले उच्चस्तरीय समिति बनाएर जानुपर्ने बताए । ‘एउटा राजस्वको उपसचिवले अर्थमन्त्री र सिआइबीले गृहमन्त्रीलाई बयानमा बोलाउन सक्दैन,’ उनले भने, ‘राष्ट्रिय–अन्तर्राष्ट्रिय गिरोह जोडिएको छ । अहिले सत्तापक्षकै नेताहरू जोडिएको पनि आइरहेको छ । त्यसैले शक्तिशाली समिति बनाउँ ।’

कांग्रेस दिलेन्द्र बडूले सुनकाण्ड छानबिन गरेर दण्डित गर्न नसके जनता र अन्तर्राष्ट्रिय जगत्मा राज्यको छवि धुमिल हुने र घटना दोहोरिरहने बताए । कांग्रेस सांसद ईश्वरी न्यौपानेले बैठकमा भनिन्, ‘क्विन्टलका क्विन्टल सुन नदेख्ने हाम्रो कस्तो सिस्टम ? जनतालाई के जवाफ दिने ?’

जसपा सांसद प्रकाश अधिकारीले सदन खुलाएर सुनकाण्डको विषय अगाडि बढाउँदा प्रभावकारी हुने बताए । ‘सदन अवरुद्ध हुँदा सुनकाण्ड लुकाउन चाहनेलाई त बल पुगिरहेको छैन ?’ उनले प्रश्न गरे । राप्रपाका बुद्धिमान तामाङले नेपाल अन्तर्राष्ट्रिय तस्करको केन्द्र बनिरहेको भन्दै छानबिन समिति बनाएर जानुपर्ने धारणा राखे ।

समितिका पदेन सदस्य एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सुनलगायत विभिन्न काण्डमा छानबिन सुरु गरेर सरकार सुशासन कायम गर्न लागिपरेको बताए । ‘सरकार कसैको पक्षमा छैन । आफ्ना नजिकको मान्छे बचाउ वा अर्काको कारबाही गर्ने होइन, सरकारले निष्पक्षता रूपमा दोषीलाई छोड्दैन । निर्दाेष फस्दैन,’ उनले भने ।

Tags

छुटाउनु भयो कि ?