News in Nepali

कर्णालीमा विशेषज्ञ अभाव, उपकरण अलपत्र

Lumbinikhabar Online

कोरोना महामारी फैलिएका बेला कर्णाली प्रदेश सरकारले सल्यान जिल्ला अस्पतालमा ६ वटा भेन्टिलेटर मेसिन जडान गर्‍यो । अस्पतालमा सघन उपचार विशेषज्ञ तथा एनेस्थेसियोलोजिस्ट नभएका कारण झन्डै ४ करोड रुपैयाँमा खरिद भएका ती भेन्टिलेटर त्यत्तिकै थन्किएका छन् । यो अस्पतालमा हाडजोर्नी शल्यक्रिया गर्ने मेसिन पनि छन् । तर, विशेषज्ञ नभएका कारण ती मेसिन पनि त्यत्तिकै अलपत्र परेका छन् । १५ शय्या अनुमति पाएको यो अस्पताल अहिले ४८ शय्यामा बिरामीलाई सेवा दिइरहेको छ ।

अस्पतालमा सामान्यतया सबै खालका मेसिन र उपकरण छन् तर ती चलाउने विशेषज्ञ नहुँदा बिरामीलाई दाङ, नेपालगन्ज र सुर्खेत रेफर गर्नुपर्ने बाध्यता छ,’ अस्पताल प्रमुख डा. पूजा आचार्यले भनिन्, ‘प्रयोगमा नआएका कारण भएका उपकरण पनि खिया लाग्ने अवस्थामा पुगेका छन् ।’

सल्यान अस्पतालमै पाठेघरको शल्यक्रियाका लागि आवश्यक उपकरण ल्याइएको छ भने अप्रेसन थिएटरसमेत छ । तर, स्त्रीरोग विशेषज्ञ नहुँदा उपकरण र बनेका संरचना थोत्रा भइरहेका छन् ।

अस्पतालमा भएको अक्सिजन प्लान्ट पनि त्यत्तिकै खेर गइरहेको डा. आचार्यले बताइन् । ‘बत्तीको भोल्टेज कम भएकाले पनि केही मेसिन सञ्चालन गर्न सकिने अवस्था छैन,’ उनले भनिन्, ‘अक्सिजन प्लान्टलाई प्रयोगमा ल्याउन ट्रान्सफर्मर व्यवस्थापनमा जुटेका छौं, तर अब यसले काम गर्छ कि गर्दैन भन्ने चिन्ता छ ।’

६ जना विशेषज्ञ डाक्टरको दरबन्दी भएको अस्पतालमा अहिले एमडीजीपी चिकित्सक एक जना मात्र कार्यरत छन् । कोरोनाको दोस्रो चरणमा जुटाइएका यी मेसिन आएदेखि सञ्चालन हुन सकेका छैनन् । सल्यान जिल्लामा अहिले कार्यरत १ जनाबाहेक विशेषज्ञ डाक्टर छैनन् ।

कालीकोट जिल्ला अस्पतालमा पनि कोरोनाका बेला आएका ४ भेन्टिलेटर र १० वटा आईसीयू बेड जनशक्ति अभावकै कारण गोदाममा थन्किएका छन् । अन्य केही मेसिन पनि जनशक्तिकै अभावमा अलपत्र रहेको अस्पतालले जनाएको छ । विशेषज्ञ डाक्टरसँगै भवन अभावका कारण अस्पतालमा भएका मेसिन एकै कोठामा थन्काउनुपरेको अस्पतालका जनस्वास्थ्य निरीक्षक कटकबहादुर महतले बताए ।

‘३ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ तर १ जना पनि छैनन्,’ उनले भने, ‘मेडिकल अधिकृतकै भरमा अस्पताल चलेको छ, एक त सेवा सुविधा कम भएको भन्दै डाक्टर नै आउन मान्दैनन्, आए पनि २/३ महिना बसेर सरुवा मिलाएर गइहाल्छन् ।’

डाक्टरको अभावले अस्पतालमै उपचार हुने बिरामीलाई पनि बाहिर रेफर गर्नुको विकल्प नभएको उनले गुनासो गरे । उनका अनुसार जिल्लामा गत फागुनबाट विशेषज्ञ डाक्टर छैनन् । त्यसभन्दा अगाडि जिल्लामा १ जना विशेषज्ञ डाक्टर थिए । अहिले महिनाको २ पटक १५/१५ दिनको फरकमा जुम्लाबाट विशेषज्ञ डाक्टर आएर सेवा दिइरहेको अस्पताल स्रोतले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?