दुवै मिर्गौला फेल भएर उपचाररत काठमाडौं टोखा नगरपालिका वडा नं. १ का नवराज दुलाललाई आर्थिक सहयोग प्राप्त भएको छ । काठमाडौं टोखा १० स्थित श्रृजना टोल विकास समितिले दुलाललाई आर्थिक सहयोग गरेको हो ।
दुलाललाई सहयोग गर्न समाजसेवी एवम् संस्थाका उपाध्यक्ष कमल ढकालको महत्वपूर्ण भूमिका रहेको छ । दुलालको कमजोर अवस्था बारे झोर महाँकालका समाजसेवी दीपेन्द्र तिवारीले ढकालसमक्ष पुर्याएका थिए । दुवै मिर्गौला फेल भएर लामो समयदेखि उपचार गराइरहेका दुलाल हप्तामा दुई पटक डाइलासिस गर्दै आएका छन् ।
उनलाई अस्पताल जानसमेत समस्या भएको, घरमा श्रीमती पनि बिरामी भइरहने र साना दुई बच्चालाई पढाउनसमेत धौ–धौ भएको भन्दै टोल विकास समितिले सहयोग गरेको हो । सहयोग बुझ्दै दुलालले टोल विकास समितिलाई धन्यवाद व्यक्त गरे ।