News in Nepali

सुन काण्डको छानबिन नहुँदासम्म एमालेले संसद् चल्न नदिने

Lumbinikhabar Online

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पनि संसद् अवरोध गर्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलले ठोस निष्कर्ष दिन नसकेको भन्दै एमालेले आज संसद् चल्न नदिने भएको हो।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि बालुवाटारमा छलफल भएको थियो।

‘सुन प्रकरणको छानबिन नभएसम्म सदनको अवरोध कायमै रहन्छ,’ एमाले प्रमुख सचेतक पदम गिरीले सेतोपाटीसँग भने।

एमालेका अर्का एक नेताले सुन प्रकरणमा भरिया पक्राउ गर्ने र मालिक उम्काउने काम भइरहेको बताए। सरकारले कसको सुन हो भनेर सार्वजनिक नगर्दासम्म सदन चल्ने अवस्था नरहेको उनले बताए।

‘प्रकरणमा नयाँ-नयाँ कुरा आइरहेका छन्। सबैको यथार्थ नागरिकले थाहा पाउनुपर्छ। सुन तस्करहरू नसमातेसम्म हामी सदन चल्ने दिने पक्षमा छैनौं,’ ती नेताले भने।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज भएको बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे पनि कुराकानी भएको थियो।

प्रधानमन्त्री प्रचण्डले मंगलबार अपराह्न ४ बजे संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक अहिलेसम्म बस्न सकेको छैन।

Tags

छुटाउनु भयो कि ?