जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ।
विभिन्न समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समितिसहित केन्द्रीय समितिको बैठक बोलाइएको प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।
बैठक साउन १८ गते बिहान ७ बजे काठमाडौंमा बस्ने यादवले जानकारी दिए। बैठक क्वालिटी ब्याङ्क्वेट बुद्धनगरमा बस्ने छ।
‘महत्त्वपूर्ण एजेन्डा त छैन। केही नयाँ सदस्य थपिएका छन्। सबै गरेर ३ सय हाराहारी केन्द्रीय सदस्य भएका छौं। आपसमा चिनजान गर्ने र अनुभव बाँड्ने ध्येयले बैठक आह्वान भएको हो,’ उनले भने।
केन्द्रीय सदस्यहरूलाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि, एक प्रति पासपोर्ट साइजको फोटो ल्याउन भनिएको उनले बताए।
‘नयाँ सदस्यको कागजात राख्नुपर्ने हुन्छ, परिचय पत्र पनि बनाउनुपर्ने भएकाले नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि मागिएको हो,’ उनले भने।