News in Nepali

मुलुकमा नीतिगत विचलन र वैदेशिक हस्तक्षेप बढ्यो : महासचिव पोखरेल

Lumbinikhabar Online

एमाले महासचिव शंकर पोखरेलले मुलुकमा नीतिगत विचलन र वैदेशिक हस्तक्षेप बढेको बताएका छन् । उनले यो अवस्था अन्त्य गर्नका लागि बलियो राष्ट्रिय शक्ति चाहिने र त्यसका लागि अब राजनीतिक ध्रुविकरण आवश्यक रहेको औंल्याए ।

राजनीति अस्थिरता हटाउने सरकार मुलुकलाई चाहिएको छ । त्यो भनेको देशभक्तहरु एमालेको झण्डा मुनि आउनुपर्छ, पुष्पलालको ४५ स्मृति दिवसको अवसरमा आइतबार पुष्पलालको जन्मथलो रामेछापको भँगेरीमा आयोजित कार्यक्रममा उनले भने,‘त्यसका लागि राजनीतिक धुर्विकरण अघि बढाउँ र पुष्पलालले बनाएको पार्टी वरिपरि बसौं।’

उनले नेपालको कम्युनिस्ट आन्दोनको विचारधारा संगठन, सिद्धान्त र संघर्ष भएको भन्दै अहिले अवसरवाद मौलाएका बेला बैचारिक धारबाट अराजकताको अन्त्य गर्नुपर्ने बताए । समाजमा फैलिएको अराजकताको अन्त्यका लागि बलियो शक्ति निर्माण आवश्यक रहेको पनि उनले उल्लेख गरे ।

‘राणा, पञ्चायत र निरङ्कुश राजतन्त्र अन्त्य भयो । हामी राजनीतिक परिवर्तनका लागि च्याम्पियन भयौँ । अब राजनीतिसँगै सामाजिक परिवर्तन आवश्यक छ । लोकप्रियतावाद अन्त्यमा गएर यथास्थितिवादीधारमा सकिन्छ,’ उनले भने,’एमालेको छ वटा नेतृत्व परिवर्तन भयो । एमालेले ६ वटा नेतृत्व परिवर्तन गर्दा कांग्रेसका ४ वटा नेतृत्व फेरिए । तर, माओवादीको अहिलेसम्म नेतृत्व फेरिएको छैन ।’

उनले राजनीतिको माध्ययमबाट पुष्पलाल र गंगालाल अनि साहित्यको माध्यमबाट कृष्णलालले लोकतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेलेको बताए । ‘कृष्णलालले मकैको खेती लेखे वापत जेल पर्नु पर्यो र उहाँको जेलमै मृत्यु भयो,’ उहाँले भने,’ रामेछाप तीनलाल अर्थात पुष्पलाल, गंगालाल र सुब्बा कृणलालको जन्मथलो पनि हो । उहाँहरु तीनै जनाले लोकतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेल्नुभएको छ ।’

 

Tags

छुटाउनु भयो कि ?