गएको वर्ष मुलुकमा स्थानीय तह सहित प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भई तीनै तहमा ताजा जनादेश अनुरूप नयाँ सरकारहरू निर्माण भएका छन् । स्थानीय तहका जनप्रतिनिधिले निर्धक्क आगामी पाँच वर्षका लागि काम गर्ने अवसर पाउनेछन् भने वर्तमान संसदीय व्यवस्था अनुरूप प्रदेश तथा संघीय सरकार भने संसदीय बहुमतको गणितमा निर्भर हुनेछन् । सत्ता समीकरणमा बदलाव आउँदा सरकार बनेको केही महिनामै कोशी, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तन भयो भने संघीय सरकारको मन्त्रिपरिषद् पनि पटक-पटक पुनर्गठन भएको छ ।
गएको निर्वाचन जनस्तरमा देखिएको राजनीतिक जागरण र ‘विकल्पको खोजी’को दृष्टिकोणबाट अलि पृथक् देखियो । स्थानीय तहको निर्वाचनमा केही पपुलर स्वतन्त्र अनुहारहरूले चुनाव जित्दा मुलुकभर नै फरक खाले तरंग पैदा भयो । मूलभूत रूपमा धरानका हर्क साम्पाङ राई र काठमाडौंका बालेन शाह त्यसयता राजनीतिको लाइमलाइटमै छन् । चुनावयता हर्क साम्पाङको श्रममुखी छवि र बालेन शाहको ‘स्मार्ट मूभ’ले बजार चर्चा चुलिंदो अवस्थामा छ ।
मूलतः स्थानीय तहको निर्वाचनमा यिनै दुई ‘स्वतन्त्र’ उम्मेदवारहरूको सफलताबाट ‘स्वतन्त्र’ शब्दको ग्य्राभिटी हृवात्तै बढ्न गयो । पुराना पार्टीहरूको ब्राण्डको तुलनामा स्वतन्त्रको चर्चा चुलिंदै गयो । यत्रतत्र दलीय विरासतको सट्टा पढालेखा स्वतन्त्रहरूको पक्षपोषण हुन थाल्यो । तर, त्यो स्थानीय तहमा विजयी भएका केही स्वतन्त्र व्यक्तिहरूको क्रेजकै आधारमा गैरदलीय राजनीति भने सम्भव थिएन नै ।
किनकि राज्यको प्रत्यक्ष सेवा प्रवाह हुने सीमित ‘कार्यकारी’ तहमा स्वतन्त्र व्यक्तिहरूले केही प्रक्रियागत सुधार गर्दै सेवा प्रवाहलाई चुस्त बनाउन सम्भव थियो । तर, संसदीय लोकतन्त्रका प्रक्रियागत जटिलता पार लगाउन र दलीय राजनीतिको अविच्छिन्न शृङ्खला जारी राख्न केही गैरदलीय स्वतन्त्र व्यक्तिहरूको उदयबाट सम्भव थिएन । त्यसैले स्थानीय तहको निर्वाचनपश्चात् प्रतिनिधिसभाको निर्वाचनसम्म आइपुग्दा दलको आवश्यकता टड्कारो रूपमै देखा पर्यो ।
फलस्वरूप टेलिभिजन कर्मबाट राजनीतिमा होमिएका रवि लामिछानेले त्यही स्वतन्त्र शब्दलाई ब्राण्डिङ गर्दै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गरी प्रतिनिधिसभा निर्वाचनमा भाग लिएर ऐतिहासिक सफलता प्राप्त गरे । उनको पार्टीले तत्कालीन अवस्थामा संभवतः प्राविधिक तयारी नपुगेका कारण प्रदेशसभाको निर्वाचनमा भाग लिन सकेन । तर, उनले चुनावी अभियानका दौरान ‘संघीयता’ प्रति नै टिप्पणी गरी चुनावी अभियान संचालन गरे । अर्थात्, उनले चुनावताका संघीयता विरोधी मनोविज्ञानकै नेतृत्व गरे । जुन कुरा स्वयम् रवि लामिछानेले मतदानकै दौरान प्रदेशसभा निर्वाचनको मतपत्र खाली छाडेर संघीयता विरोधी मानसिकता प्रदर्शन गरेका थिए ।
तथापि आजको अवस्था अलि भिन्न छ । अहिले उनको दलले औपचारिक रूपमा संघीयतालाई अस्वीकार गरेको छैन भने पार्टीलाई पनि संघीय स्वरूपमै निर्माण गर्दैछन् । जेहोस् गएको चुनावी नतिजामा नयाँ शक्तिहरू समेतले राम्रै हैसियत प्राप्त गरे । त्यसयता बजारमा ‘वैकल्पिक शक्ति’ को रूपमा तराई मधेशमा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एवं पहाडी तथा पूर्वपश्चिम राजमार्गकेन्दि्रत शहरबजारमा राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा सुनिन थालेको छ ।