नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले संघीयताको वकालत गर्ने पार्टीले आफ्नै संगठनमा भने संघीयताको असल अभ्यास गर्न नसकेको गुनासो गरेका छन् । उनीहरूले पार्टीमा केन्द्रीय कार्यसमितिले सीधै जिल्ला र पालिका तहसँग काम गर्ने र शासन गर्ने काम गरेको बताए । मुलुकमा संघीयता व्यवस्थाकै सवालमा प्रश्न उठिरहेका बेला पार्टीभित्र समेत संघीय संरचनालाई सर्वस्वीकार्य गरेर संगठन अघि बढाउन नखोजिएको उनीहरुको आरोप छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबारदेखि जारी बैठकमा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मुलुकको संघीय व्यवस्थामै प्रश्न उठिरहेका बेला पार्टीमा समेत त्यसको असल अभ्यास हुन नसकेको बताए । ‘अहिले संघीयताकै विषयमा प्रश्न उठिरहेको छ ।
त्यहीअनुसार पार्टीमा पनि यो भएको हो कि भुलवश हो ? प्रदेशलाई अधिकार दिन, भूमिका दिन नचाहेको हो कि विश्वास नभएको हो ?,’ उनले प्रश्न गरे । नेता पुनले केन्द्रीय कार्यसमितिमा महामन्त्रीले प्रस्तुत गरेको एक वर्षे क्यालेण्डरमा समेत प्रदेश कार्यसमितिको भूमिकालाई समेटेर कुनै कार्यक्रमहरूको प्रस्ताव नआएको बताए ।
गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश कार्यसमितिलाई नसोधीकन केन्द्रले जिल्ला सभापतिको भेला गरेको भन्दै गुनासो गरे ।
‘केन्द्रले सीधै जिल्ला कार्यसमितिसँग काम गरिरहेको छ । त्यस्तो कामको संयोजनमा प्रदेशलाई भूमिका दिइएको भए पनि हुने थियो, तर त्यो भएन,’ उनले भने, ‘७७ जिल्ला सभापतिलाई काठमाडौं बोलाइयो, तर प्रदेश सभापतिहरूलाई थाहै दिइएन । प्रदेशअनुसार जिल्ला सभापतिहरूको संयोजन गरिएको भए राम्रो हुन्थ्यो ।’