News in Nepali

कथामा परिणत सीता ‘आमा’

Lumbinikhabar Online

सिङ्गो देश हिजो (२७ असार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नि सीता दाहालको निधनको खबरले देशै स्तब्ध बन्यो । संसारभर उक्त समाचारले समवेदनाको तरङ्ग प्रवाहित गर्यो । देशले एउटा धरोहर गुमायो । क्रान्ति यात्रामा लामबद्ध लाखौँको पंक्तिले एउटा अभिभावक गुमायो ।

एउटा जुन, अस्तायो सदाका लागि । एउटा चम्किलो तारा अस्तायो सदा सदाका लागि । पार्टीले एउटा आस्थाको धरोहर गुमायो । सिंगो देशले एउटा प्रथम महिला गुमायो । नेपाली क्रान्ति नायकले परिवर्तनको युद्धमा एउटा बलियो सारथी गुमायो । एउटा जिउँदो इतिहास कथामा परिणत भयो । दुनियाँकै एउटा दुर्लभ इतिहास अब एउटा कथाको रूपमा संसारभर र विशेषगरी नेपाली समाजमा युगौँयुगसम्म पढिरहने, भनिरहने र सुनिरहने कथा बन्यो ।

अर्थात् पशुपति आर्यघाटमा हजारौँ जनसागरका आँखा अगाडि राष्ट्रिय सम्मानका साथ सम्माननीय प्रधानमन्त्री कमरेड प्रचण्ड पत्नी, नेपालकी प्रथम महिला तथा नेकपा (माओवादी केन्द्र) की सल्लाहकार सीता दाहालको अन्त्यष्टि गरियो ।

कथामा परिणत सीता ‘आमा’ नेपाली इतिहासकै सर्वोत्कृष्ट कृतिको पात्र हुनेछन् । इतिहासमा आजसम्म नपढिएको सिर्जनाको पात्र हुनेछन् । उनीमाथि लेखिएको उपन्यास त्याग, समर्पण, साहस र वीरताको गाथाले भरिएको हुनेछ । स्वप्नद्रष्टाका निम्ति चम्किलो प्रकाश हुनेछ । असहाय र दीनदुःखीका निम्ति विश्वासको महाकाव्य हुनेछ । दोस्रो दर्जामा पारिएकाका निम्ति जीवनको मूल्यबोध गराउने एउटा ग्रन्थ बन्नेछ ।

म्याक्सिम गोर्कीले लेखेको ‘आमा’ उपन्यास २०औँ शताब्दीमा क्रान्तिको आधार बन्यो । सीता आमाले निर्माण गरेको आफ्नै जीवनको कथाले २१औँ शताब्दीमा अर्को एउटा क्रान्तिको लहर सिर्जना गर्नेछ ।

Tags

छुटाउनु भयो कि ?