क्रिकेट अम्पाएरहरुका लागि पोखरामा आयोजना गरिएको ओ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ तालिम सम्पन्न भएको छ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा शुक्रबार र शनिबार दुई दिन आयोजना गरिएको तालिममा प्रदेशका ११ मध्ये कास्की, नवलपुर, तनहुँ, स्याङजा, पर्वत र बागलुङका महिला र पुरुष गरी ४० जना अम्पाएरहरुको सहभागिता रहेको थियो।
सहभागिहरुलाई आइसिसी अम्पाएर दुर्गा सुवेदी र विनय झाले खेलका विविध विषयका बारेमा सहजीकरण गरेका थिए। क्रिकेट खेललाई थप विश्वासिलो र प्रभावकारी बनाउन तालिम आयोजना गरिएको आयोजक परिषदका सदस्य सचिव श्रीधर शमाको भनाइ थियो।
अनुशासित र मर्यादित खेलकुदका लागि यस प्रकारका तालिम महत्वपूर्ण हुने भन्दै परिषदले क्रमिक रुपमा संघहरुको समन्वयमा यस्ता तालिमहरुलाई निरन्तरता दिने बताएको छ।