News in Nepali

सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली नै चलाउनु मानव अधिकारको चरम उल्लंघन’

Lumbinikhabar Online

कोशी प्रदेश नामाकरणको विरोधमा पूर्वमा जारी पहिचानवादी आन्दोलनमा सुरक्षाकर्मीले आन्दोलनकारीमाथि गोली नै चलाउनु मानव अधिकारको चरम उल्लंघन भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ठहर गरेको छ ।

इन्सेक झापाले बिहीबार बिर्तामोडमा आयोजना गरेको अर्ध वार्षिक समीक्षा गोष्ठीका क्रममा कोशी नामाकरणको विरोधमा जारी आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर एक जना आन्दोलनकारी लाजेहाङ लिम्बूको मृत्यु भइसकेको र केही आन्दोलनकारी घाइते भएको भन्दै सभा, सम्मेलन र विरोध गर्न पाउने नागरिक अधिकारप्रति राज्य पक्षबाट चरम उल्लंघन भएको जनाइएको हो ।
‘राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक लगायतका अधिकार सम्बन्धी महासन्धि र सभा, सम्मेलन, विरोध गर्न पाउने नागरिक अधिकारलाई कुण्ठित गर्ने कार्यले मानव अधिकारको चरम उल्लंघन हुन जान्छ’, इन्सेक झापाका प्रतिनिधि नरेश खातीले भने, ‘आन्दोलनकारी माथि गोली प्रहारजस्ता घटनाले पक्ष राष्ट्रका रुपमा राज्यले गरेका सन्धि सम्झौताको ठाडो उल्लंघन हुन जान्छ ।’

सन् २०२३ को जनवरी १ देखि जुन १५ सम्म झापामा विभिन्न किसिमका मानव अधिकार उल्लंघनका घटना बढेर गएको इन्सेकले उल्लेख गरेको छ । यो अवधिमा झापामा जनप्रतिनिधि माथि सार्वजनिक स्थानमा भएको कुटपिट घटना र ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई सादा पोसाकका माथिल्लो दर्जाका प्रहरीद्वारा सार्वजनिक स्थानमा निर्घात कुटपिट हुनुले कानुनी राज्यकै उपहास भएको जनाइएको छ । ‘नागरिकलाई सुरक्षा दिने राज्यबाटै भएका यस किसिमका घटनाले नागरिकले सुरक्षा हैन कि भय महसुस गर्न थालेको देखिन्छ’, खातीले भने ।

Tags

छुटाउनु भयो कि ?