युवा फास्ट बलर किशोर महतोले एक वर्षपछि राष्ट्रिय क्रिकेट टोलीको पहिलो रोजाइमा खेल्ने अवसर पाएका छन् ।
उनले गत वर्ष जुलाईमा स्कटल्याण्ड विरुद्ध लिग टु मा राष्ट्रिय टिमबाट एक दिवसीय क्रिकेटमा डेब्यू गरेका थिए ।
जिम्बाव्वेमा भएरहेको आईसीसी क्रिकेट विश्वकप छनोटको सातौं स्थानको प्ले अफ फाइनलमा आयरल्याण्ड विरुद्धको खेलमा किशोर पहिलो रोजाइमा अटाएका हुन् ।
उनी अर्का युवा फास्ट बलर प्रतिश जिसीको स्थानमा पहिलो रोजाइमा परेका हुन् ।
जिम्बाव्वे भ्रमणमा रहे पनि उनी सुरुमा १५ सदस्यीय आधिकारिक टोलीमा थिएनन् र रिजर्भमा थिए । राष्ट्रिय टिममा नपरे पनि प्रशिक्षक मोन्टी देशाइले उनलाई टिमसँगै प्रशिक्षण गराउँदै आएका थिए ।
तर पहिलो खेलपछि सोमपाल कामी घाइते हुँदा उनको स्थानमा किशोरलाई टिममा राखिएको थियो । त्यसपछि पनि खेल्ने अवसर नपाएका उनले अन्तिम खेलमा अवसर पाएका हुन् ।
किशोरले नेपालको लागि दोस्रो एक दिवसीय खेल्न एक वर्ष पर्खनुपर्यो । १७ जुलाई २०२२ मा क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड भ्रमणका बेला उनले घरेलु टोली विरुद्ध डेब्यू गरेका थिए । तर त्यसपछि नेपालले खेलेको लिग टु कै चार वटा शृंखला र एसीसी प्रिमियर कपमा उनी अन्तिम टोलीमा समेत अटाएनन् ।
किशोरले नेपालका लागि पहिलो खेल भने जिम्बाव्वे ए टोली विरुद्ध खेलेका थिए । गत वर्ष मे मा जिम्बाव्वेको ए टोली नेपाल भ्रमण आउँदा उनले नेपालका लागि ५० ओभरको पहिलो खेल खेले । त्यस खेलमा उनले ७ ओभरमा १ मेडन राख्दै ४३ रन खर्चेर ५ विकेट लिएका थिए ।
त्यसपछि लगत्तै लिग टु मा अवसर पाउँदै स्कटल्याण्ड विरुद्ध डेब्यू गरेपछि किशोर फास्ट बलिङमा विकल्पका रुपमा देखिएका थिए ।
अहिले फास्ट बलरमा सोमपाल कामी र करण केसी मुख्य बलरको रुपमा छन् यस्तै देशाइको आगमन पछि गुल्शन झाले पनि नियमित जस्तो अवसर पाइरहेका छन् । युवा बलर प्रतिश जिसीले पनि राष्ट्रिय टिममा डेब्यू गरिसकेका छन् ।