प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ३ दलका शीर्ष नेता र सभामुख देवराज घिमिरेबीच भएको छलफलमा संसदीय समितिहरूको नेतृत्व टुंग्याउने विषयमा कुराकानी भएको छ।
प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलरबार सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा संसदीय समितिका सभापति यथाशीघ्र चयन गर्ने विषयमा कुराकानी भएको हो।
‘संसदीय समितिको नेतृत्व चाँडोभन्दा चाडो चयन गर्ने सहमति भयो, प्रमुख सचेतकहरूलाई राखेर निर्वाचन प्रकृया सभामुखले सुरू गर्नुहुन्छ,’ बैठकमा सहभागी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले भने, ‘राजनीतिक रूपमा केही विकृति देखिएका छन्। तिनीहरूको समाधान गर्दै लैजाने र अहिलेको शासन व्यवस्थालाई बलियो बनाउने विषयमा पनि कुराकानी भयो।’
त्यस्तै संक्रमणकालीन न्याय र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक अघि बढाउने समझदारी भएको उनले बताए।
कोशी प्रदेशमा नयाँ सरकार गठनबारे पनि शीर्ष नेताहरूबीच छलफल भएको उनले बताए। सत्ता गठबन्धनले कोशीमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ।