News in Nepali

सरकार ‘झल्याँस्स’ भएपछि प्रतिनिधिसभाको नियमित कार्यसूची हटाएर अघि बढाइयो प्रतिस्थापन विधेयक

Lumbinikhabar Online

आइतबार प्रतिनिधिसभाको बैठक बसेको ३ मिनेटमै १५ मिनेटका लागि बैठक स्थगित गरेर दोस्रो बैठक बोलाइयो । पहिलो बैठकमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेले राष्ट्रिय सभामा उत्पत्ति भएको “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” लाई टेबुल गरे । सभामुखले बैठकमा शून्य समयको व्यवस्था नराखिएको जानकारी गराउँदै आजका लागि तय गरिएको आर्थिक विधेयकहरूमाथिको कारवाही कार्यसूचीबाट हटाइएको जानकारी गराए ।

१५ मिनेट स्थगित भएर बसेको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई सो विधेयकलाई बिचार गरियोस् भनेर पेश गर्न अनुमति दिए । मन्त्री गुरुङले सो विधेयक प्रतिनिधिसभामा पेश गरेपछि विधेयकमाथिको सामान्य छलफल सुरु भएको थियो । सरकारले गत वैशाख २० गते मिटर ब्याजसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेश ल्याएको थियो ।

त्यसको ४ दिनपछि प्रतिनिधि सभाको बर्खे अधिवेशन प्रारम्भ भएको थियो । तर सरकारले सो विधेयकलाई समयमा अघि नबढाएका कारण हतार हतार पारित गर्नका लागि ढिलो गरी संसद्मा प्रस्तुत गरेपछि प्रमुख प्रतिपक्षी दलले आक्रोश व्यक्त गरेको छ । एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको चरम लापरबाहीका कारण बैठक सुरु हुने बित्तिकै १५ मिनेटका लागि स्थगित गर्नुपर्ने अवस्था आएको भन्दै यो भन्दा लज्जाजनक अवस्था के हुन सक्छ ? भन्दै प्रश्न गरे ।

Tags

छुटाउनु भयो कि ?