प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ।
बालुवाटारमा आइतबार बिहान भएको भेटमा जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे कुराकानी भएको प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए।
‘सरकारमा ल्याउन प्रधानमन्त्रीज्यू तयार हुनुहुन्छ, उहाँहरू पनि सरकारमा आउन तयारै हुनुहुन्छ। छलफल सकारात्मक भएको छ,’ गजुरेलले सेतोपाटीसँग भने, ‘तर, ठाउँ खाली छैन। कसरी ठाउँ खाली गर्ने भनेर प्रधानमन्त्री छलफलमै हुनुहुन्छ।’
सत्ता गठबन्धनको बैठक बसेर जनमतलाई सरकारमा ल्याउनेबारे आवश्यक निर्णय लिने बताए।
‘प्रधानमन्त्रीको इच्छाले मात्रै भएन नि! गठबन्धनमा छलफल गरेर ठाउँ खाली गर्नुपर्यो,’ उनको भनाइ थियो।
मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै जनमत सरकारबाट फिर्ता भएको थियो।
सरकारलाई दिएको समर्थन कायमै राखे पनि शुक्रबार बजेट पारित गराउँदा पक्षमा मत हालेन।