प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानबाट सरकारले कानुनको सर्वोच्चतामात्र प्रमाणित गरेको बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको पनि बताए।
‘उच्च पदस्थहरू र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ। यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको छ। संसद र आमजनसमुदायलाई म यही रोस्टमबाट विश्वास दिलाउँछु, यो शुद्धीकरण अब रोकिने छैन,’ उनले भने।
उनले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको बताए। मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारवाही सुरु भइसकेको पनि बताए।
‘वर्षौंदेखिको विकृतिको डंगुर सफा गर्ने सुशासनको यो लडाइँमा मलाई संसद र जनताको अझ धेरै समर्थन चाहिएको छ। बेथितिको दुष्चक्र नभत्काएसम्म न देश अघि बढ्नेछ, न लोकतन्त्र। म संकल्प गर्छु, कुनै पनि मूल्यमा विकृतिको यो डंगुर भत्काइछाडिनेछ। लोकतन्त्रसँग आफ्ना विकृति सच्याउने सामर्थ्य छ र सरकार त्यो दिशामा क्रियाशील छ,’ उनले भने।