कोसी प्रदेशस्तरीय मुख्यमन्त्री कपको उपाधि इलामले जितेको छ। ओखलढुंगामा सञ्चालित मुख्यमन्त्री कप फुटबलको फाइनल खेलमा संखुवासभालाई ३–० गोल अन्तरले पराजित गर्दै इलामले उपाधि चुमेको हो।
जितसँगै इलामले नगद दुई लाखसहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिताको उपविजेता संखुवासभाले नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।
खेलका विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको छ । बेस्ट गोलकिपर इलामका मौसम मगर, बेस्ट डिफेन्स इलामका आयुश तिमल्सिना, बेस्ट फरवार्ड संखुवासभाका मन्दीप राई, उच्च गोलकर्ता ओखलढुंगाका सञ्जय गुरुङ, बेस्ट मिडफिल्डर संखुवासभाका पर्शु राई र बेस्ट कोचको उपाधि इलामका छिरिङ पासाङले हात पारेका छन्।
यस्तै, प्रतियोगितामा म्यान अफ दी सिरिजको उपाधि इलामका विशाल तामाङले जितेका जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका अध्यक्ष प्रवीण श्रेष्ठले जानकारी दिए। खेलकुद विकास बोर्ड कोसी प्रदेशको आयोजनामा असार ४ देखि सुरु भएको प्रतियोगितामा ताप्लेजुङबाहेक प्रदेशका अन्य १३ जिल्लाका टोलीले सहभागिता जनाएका थिए।