प्रधानमन्त्री पुष्पकमल दाहालले सिमानाको सुरक्षाको लागि सरकार संवेदनशील रहेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले देशको सिमानाको सुरक्षामा सरकार संवेदनशील रहेको बताएका हुन्।
देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकतालगायत राष्ट्रिय हितको रक्षाका लागि पनि सरकार संवेदनशील र प्रयत्नशील रहेको बताए ।
अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल, सदृढ र प्रभावकारी बनाउन सीमा स्तम्भहरूको नियमित मर्मत, सम्भार गर्दै जाने विषय सरकारको प्राथमिकतामा रहेको बताए ।
त्यस्तै बोर्डर आउटपोस्टहरूको सुदृढीकरण र थप स्थानमा आउटपोस्ट निर्माण गर्दै जाने विषय सरकारको उच्च प्राथमिकतामा रहेको उनले बताए । प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्षमै १० वटा बोर्डर आउटपोस्टहरू निर्माण सम्पन्न हुने पनि बताए ।