News in Nepali

एसिया कप : नेपाल, भारत र पाकिस्तान रहेको समूहको खेल श्रीलंकामा हुन सक्ने

Lumbinikhabar Online

एसिया कपका लागि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले प्रस्ताव गरेको नयाँ हाइब्रिड मोडेललाई एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले अनुमोदन गर्ने सम्भावना बढेको छ।

नयाँ प्रस्तावअनुसार भारत, नेपाल र पाकिस्तान रहेको समूह ’ए’ का खेल श्रीलंकामा हुनेछ। बाँकी खेल भने पाकिस्तानमै गराउने प्रस्ताव छ।

प्रतियोगिताका १३ खेलमध्ये चार वा सम्भवतः पाँच खेल श्रीलंकामा हुने प्रस्ताव छ। त्यसबाहेकका अरु खेल पाकिस्तानमा हुनेछन्।

भारत फाइनलमा पुगे सो खेल पनि श्रीलंका हुनेछ।

क्रिकेटको चर्चित वेव पोर्टल क्रिक इन्फोका अनुसार यहि साता प्रतियोगिताबारे आधिकारिक घोषणा हुनेछ।

एसिया कपका लागि सेप्टेम्बर १ देखि १७ सम्मका लागि समय छुट्याइएको छ।

नयाँ प्रस्ताव भारतले स्वीकार गरेको अवस्थामा एसिया कपसहित अन्य प्रतियोगिताको गतिरोध हट्ने विश्वास गरिएको छ। यसअघि पाकिस्तानले आफ्नो भूमीमा एसिया कप नभए प्रतियोगिता नखेल्ने र भारतमा हुने एकदिवसीय विश्वकप समेत नखेल्ने चेतावनी दिएको थियो।

भारतले प्रतियोगिताका लागि पाकिस्तान भ्रमण नगर्ने बताएसँगै विवाद सुरु भएको थियो।

नयाँ प्रस्तावले पाकिस्तानको विश्वकपका लागि भारत भ्रमणको बाटो सहज हुने सम्भावना छ ।

भारत र पाकिस्तानले अर्काको देशमा यात्रा गर्न नचाहेका कारण समाधानका रूपमा हाइब्रिड मोडल प्रस्ताव गरिएको हो। भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि पाकिस्तानले आयोजना अधिकार कायम राख्नको लागि यो मोडेलको प्रस्ताव ल्याउन बाध्य भयो।

पाकिस्तानले सुरुमा पाकिस्तान-भारतको खेललाई युएईमा खेलाउने प्रस्ताव गरेको थियो। तर बंगलादेशले सेप्टेम्बरमा मध्यपूर्वको गर्मीका कारण प्रश्न उठाएको थियो।

पिसिबीका प्रमुख नजम सेठीले दुई साताअघि दुबईमा भएको बैठकमा ओमान क्रिकेटका प्रमुख र एसिसीका उपाध्यक्ष पंकज खिम्जीलाई हाइब्रिड मोडलको विवरण पेश गरेका थिए।

६ राष्ट्रको एसिया कपमा नेपालसँगै भारत र पाकिस्तानलाई समूह एमा छन्। अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।

एसिया कपमा १३ दिनमा फाइनल सहित कुल १३ खेल हुनेछ। प्रत्येक समूहबाट शीर्ष दुई टोलीहरू सुपर फोर राउन्डमा पुग्नेछन्, सुपर फोरबाट शीर्ष दुई टोली फाइनल पुग्नेछन्। भारत र पाकिस्तान फाइनल पुगेमा तीन पटक एकअर्कासँग खेल्ने सम्भावना खुल्छ।

Tags

छुटाउनु भयो कि ?