नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले पहिचानवादीहरुलाई प्रोत्साहीत गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एकीकृत समाजवादी परित्याग गरी एमालेमा समाहित भएका नेता, कार्यकर्तालाई स्वागत गर्दै उनले कोसी प्रदेशमा सत्ता संरक्षित अपराधिक घटनाहरु भइरहेको बताए। पहिचानवादका नाममा सत्तापक्ष नै मुठभेड गराउन लागिपरेको भन्दै उनले एमाले प्रतिवादमा उत्रिने बताए।
नेपाललाई जातजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्रबाट पुष्पकमल दाहालले देशभर पहिचानको विष फैलाउने कोशिश गरेको गम्भीर आरोप लगाउँदै पूर्वप्रधानमन्त्री ओलीले प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गरे।
‘नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने, यो किराँत प्रदेश राख्न खोजेको किन रहेछ भने हामीले देख्दैछौँ नि। नराख्दा यस्तो छ, राख्ने भए के हुन्थ्यो। गैरकिराँत त बस्न पनि नपाउने अवस्था बन्ने रहेछ नि त। प्रचण्डले सकेन यो विषको आगो फैलाउन, प्रचण्डले खोजेको हो, देशभर विषको आगो फैल्याउन, पहिचानको राजनीति ल्याउन, जात जातका राज्य, यो कोशिष गरेको हो । भड्काउन, बिथोल्न खोजेको हो ।
प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता देखियो। नाम राख्ने, अलि पछि गल्ती भयो भन्ने पुनःविचार गर्नुपर्छ भन्ने र त्यता मान्छे भड्काउने । प्रचण्ड भनेको एक छिनमा पहिचानवादी, एक छिनमा राष्ट्रियतावादी हो। एकछिनमा फाटोवादी, एकछिनमा तमासा। अब नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने बेला आएको छ। सरकारले यो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन,’ ओलीले भने।