नेकपा (माओवादी केन्द्र) ले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ।
मंगलबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले उनलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेका हुन्।
त्यस अवसरमा महराले अपांगता भएका व्यक्तिहरूको टिम नै बनाएर विश्वव्यापी रूपमा शान्तिको अभियान छेड्ने बुढामगरको अभियान रहेको र त्यसमा आफू र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनले कीर्तिमानी बुढामगरको आफ्नो जीवनलाई थप साहसका साथ अघि बढाउने मिसनको सफलताको पनि कामना गरे।
पार्टीको सम्मान कार्यक्रममा सहभागी भएकोमा पनि महराले बुढामगरप्रति आभार व्यक्त गरेका थिए।
उनले भने, ‘उहाँहरू एउटा ठूलो शान्तिको मिसनमा हुनुहुन्छ। अपांग भएका व्यक्तिहरू खोजेर एउटा टिम बनाएर विश्वव्यापी रूपमा शान्तिको अभियान छेड्न चाहनु हुन्छ। त्यसको निमित्त हाम्रो तर्फबाट, हाम्रो पार्टीको तर्फबाट म आफैं पनि माओवादी ‘जनयुद्ध’बाट शान्ति प्रक्रियाको मिसनमा लागेका व्यक्तिको हैसियतले म पनि सहयोग गर्न तयार छु। म यो प्रतिबद्धता पनि यहाँहरूलाई भन्न चाहन्छु। यसमा धेरै भन्नु छैन। उहाँको जीवन, उहाँले खुट्टा गुमाउनु भएता पनि उहाँले साहस गुमाउनु भएको छैन। र, केही लक्ष्य पूरा गर्ने, केही समय उहाँ अलि रूमलिनु भयो। तर बाँकी जीवन थप साहसपूर्वक अगाडि बढ्ने र मिसन पूरा गर्ने उहाँको लक्ष्य छ। त्यो पूरा होस्। हाम्रो शुभकामना कार्यक्रमलाई स्वीकार गरिदिनु भएकोमा उहाँलाई धन्यवाद।’
कार्यक्रममा बोल्दै बुढामगरले अपांगताको क्षेत्रमा जागरण ल्याउन आफूले सगरमाथाको आरोहण गरेको बताए।
उनले यस क्षेत्रमा सरकारलाई पनि केही गर्न आफ्नो अभियानले सचेत गराएको पनि बताए।
बुढामगरले अपांगता भएका व्यक्तिहरूलाई दया र मायाभन्दा पनि अवसर र मौका दिन आग्रह गरे।
उनले भने, ‘सगरमाथामार्फत् मैले यो अपांगताको क्षेत्रमा जागरण गर्ने, सचेतना दिने कोसिस गरेको छु। पहिले सरकारले दुई वटा हात, दुई वटा खुट्टा र दुई वटै आँखा नभएकालाई सगरमाथा जान ब्याण्ड गरेको थियो। त्यो ब्याण्ड गरेपछि हामीले सर्वोच्च अदालतमा गएर मुद्दा लडेका थियौं। र, त्यो मुद्दा जितेर सगरमाथा चढेको र अहिले मैले सरकारलाई पनि यस क्षेत्रमा केही काम गर्न सचेत गराएको महसुस गरेको छु।’
बेलायती सेनामा कार्यरत रहँदा दुवै खुट्टा गुमाउनु भएका बुढामगरले गत जेठ ५ गते अपराह्न सगरमाथाको सफल आरोहण गरेका थिए।