कोशी प्रदेशका उद्योगी व्यवसायीले अर्थमन्त्री प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटलाई परम्परागत निरन्तरताको संज्ञा दिएका छन् । उनीहरुले कोशी प्रदेशको निजी क्षेत्रका माग र समस्यालाई बजेटले सम्बोधन गर्न चुकेको औंल्याएका छन् । उनीहरुले आर्थिक मन्दीका कारण रुग्ण रहेको उद्योग व्यवसाय क्षेत्रको मनोबल बजेटले बढाउन नसकेको गुनासो गरे ।
मनोबल गिरेको औद्योगिक क्षेत्रलाई बजेटले अलिकति पनि उत्साहित गर्न सकेन’, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले भने ‘बजेटपूर्व यस क्षेत्रका उद्योगी व्यवसायीले अर्थमन्त्री समक्ष प्रस्तुत गरेका कुनैपनि माग र समस्या सम्बोधन गरेन ।’ बजेटले परम्परागत रुपमा निरन्तरता मात्र पाएको उद्योगीको उनको भनाइ छ ।
विदेशी हाइड्रोपावरले स्वदेशी रड, सिमेन्ट, पाइप प्रयोग गर्नुपर्ने प्रावधानबाहेक कोशी प्रदेशको औद्योगिक क्षेत्रले केही पनि राहत नपाएको सुरानाले बताए । ‘यस क्षेत्रका उद्योगी व्यवसायीले औद्योगिक क्षेत्रको स्थापना, औद्योगिक प्रदर्शनीस्थल लगायतको माग गरेका थिए’ उनले भने ‘बजेटले यहाँको औद्योगिक क्षेत्रका लागि केही पनि सकरात्मक नीति ल्याएन ।