News in Nepali

बालमैत्री स्थानीय तहका लागि पालिका उपाध्यक्षहरूको प्रतिबद्धता

Lumbinikhabar Online

स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूले बालमैत्री स्थानीय तह निर्माणका लागि लिखित प्रतिबद्धता जनाएका छन् । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सिरिजंगाबाहेकका सबै स्थानीय तहका उपप्रमुखले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।

जिल्ला समन्वय समिति ताप्लेजुङद्वारा आयोजित कार्यक्रममा बालबालिकासम्बन्धी ऐन, २०७५ को व्यवस्थाअनुसार बालबालिकासम्बन्धी कार्यविधिको तर्जुमा गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ । प्रत्येक स्थानीय तहमा बालकल्याण अधिकारीको व्यवस्था गर्ने, स्थानीय बालअधिकार समितिको गठन गर्ने, बालकोषको स्थापना र सञ्चालन गर्ने, बाल मनोविज्ञ र समाजसेवीको नाम सूचीकृत गर्ने उल्लेख छ ।

बाल क्लबको गठन र सञ्जालको व्यवस्था गरी बाल सहभागितालाई परिवारदेखि स्थानीय तहसम्म सुनिश्चित गर्ने, बालबालिकासम्बन्धी सूचना व्यवस्थापन तथा प्रभावकारी बनाई वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने, बाल अधिकार सुनिश्चितताका लागि बालबालिकासँग सरोकार राख्ने निकायसँग समन्वय, सहकार्य र साझेदारी बढाउने पनि उल्लेख छ ।

प्रतिबद्धतापत्रमा फुङलिङ नगरपालिका उपप्रमुख भिमादेवी ओझा, सिदिङवा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया, पाथीभरा याङवरकका रनमाया गुरुङ, फक्ताङलुङका विकास साम्रा, मिक्वाखोलाका डन्डु शेर्पा र मेरिङदेन गाउँपालिकाका दुर्गाप्रसाद श्रेङचोङवाङले हस्ताक्षर गरेका छन् । यस्तै मैवाखोलाका कमलकुमारी लिम्बू र आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्ष शान्ता आङवोहाङले पनि प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । सिरिजंगा गाउँपालिका उपाध्यक्ष चित्रकुमार लिम्बू भने कार्यक्रममा सहभागी भएनन् ।

जिल्ला समन्वय समिति, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र, राष्ट्रिय बालअधिकार परिषद्, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, मानव अधिकार मञ्च नेपाल इलाम र वातावरण संरक्षण तथा विकास मञ्चले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?