गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गरेको समय घर्किन केही घण्टा मात्र बाँकी छ । बिहीबार अपरान्ह ४ बजेसम्म सरकार गठनका लागि दाबी पेस गर्न उनले आह्वान गरेका छन् ।
सत्ता साझेदारी दलबीच विवाद चुलिँदै जादा सरकारको दाबी पेस गर्नका लागि बहुमत सांसदको हस्ताक्षर भने हुन सकेको छैन । कांग्रेसले हस्ताक्षर संकलन गरे पनि माओवादीले हस्ताक्षर गरेको छैन ।
सरकारको नेतृत्व कांग्रेस–माओवादीले आलोपालो गर्ने सहमति भएपछि पहिलो चरणमा कसले नेतृत्व गर्ने भन्ने विषयमा विवाद चुलिँदै गएपछि केन्द्रबाट कांग्रेसले पहिलोपटक सरकरको नेतृत्व गर्ने सहमति भर्खरै गरेको छ ।
माथिबाट निर्णय नआएको भन्दै सरकार गठनमा ढिलाइ भएको थियो । सरकारको नेतृत्वसँगै मन्त्रालय भागवन्डाको विषयलाई लिएर पुनः विवाद उत्पन्न भएको हो । मुख्यमन्त्रीको दाबी गरेका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले अर्थ मन्त्रालयको दाबी गरेका छन् ।
मन्त्रालयको सहमति भएपछि मात्र हस्ताक्षर संकलन गरिने स्रोतले जनाएको छ । स्रोतका अनुसार मन्त्रालयको भागवन्डा पनि पार्टी केन्द्रलेनै निर्णय गरेर पठाउने तयारी भएको छ । पहिलो चरणमा कांग्रेसले मुख्यमन्त्री पाएपछि माओवादीले तीन वटा मन्त्रालयको दाबी गरेको छ ।