अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमानदारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिए ।आज विराटनगर पुगेका उनले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भने, ‘तपाईंहरू राज्यको राजस्व संकलनजस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन । भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौँ, मलाई विश्वास छ यहाँहरूले राम्रो गर्न कोसिस गरिराख्नुभएको छ र आगामी दिनमा झन् राम्रो गर्नुहुनेछ ।’
मन्त्री डा. महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने पनि स्पष्ट पारे । उनको भनाइ थियो– कर्मचारीले आफ्नो जिम्मेवारी इमानदारिताका साथ पारदर्शी रूपमा पूरा गर्नुहुनेछ ।
उनले यो आर्थिक वर्षको असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने आफूले अपेक्षा गरेको बताए । तर, राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन पनि उनले निर्देशन दिए ।
मन्त्री डा. महतले भने, ‘समग्रमा हामी पारदर्शिताका साथ काम गरौँ, सेवाग्राहीलाई सहज र सौहार्दपूर्ण वातावरण निर्माण गरौँ, नियम–कानुनअनुसार काम गरौँ, हामीले गर्नुपर्ने काममा सम्झौता नगरौँ ।’