नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारमा ५ वर्षे हदम्याद सबै भ्रष्टाचारीलाई बचाउने प्रयास भएको भन्दै विरोध जनाएका छन् ।
भ्रष्टाचारमा ५ वर्षे हदम्यादको व्यवस्था राखेर राष्ट्रिय सभाले दुई वटा विधेयक (भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक) पारित गरेर प्रतिनिधिसभामा पठाएको छ ।
राष्ट्रिय सभाबाट पारित भएर आएको भ्रष्टाचार निवारण सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै कांग्रेस सांसद केसीले भ्रष्टाचारमा हदम्याद लाग्ने विषयको विरोध गरेका हुन् ।
यस्तो व्यवस्था कुनै हालतमा स्वीकार गर्न नसकिने उनको भनाइ छ । ‘पाँच वर्ष भित्र भ्रष्टाचारको कारबाही गर्नुपर्ने नत्र नगर्ने भन्ने कुरा सबै भ्रष्टाचार गर्नेहरु बच्नको निम्ति ल्याएको हो । यो कुनै हालतमा हुन्न’ सांसद केसीले भनेका छन् ।
राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा गएको विधेयकमा भने प्रष्ट रुपमा हदम्याद सम्बन्धी व्यवस्था राखिएको छ ।