नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणमा गण्डक र सुस्ताको विषयलाई एजेण्डा बनाउन माग गरेका छन् । उनले गण्डक, सुस्ता र कोशीका कारण हुने डुवान र कटानबाट वर्षेनि ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै स्थायी समाधान खोज्नुपर्नेमा जोड दिए ।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा धारणा राख्दै कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य चौधरीले भने, ‘५० वर्षदेखि बर्दघाट सुस्ता पश्चिमको निरन्तरको पीडा, आक्रोश, उपेक्षा र चरम दरिद्रताको विषय म यहाँ उठाउँदैछु । हरेक वर्ष सुस्ता र गण्डकका हजारौं परिवार र हजारौं परिवारका खेत डुबानमा पर्छन् ।
अर्बौंको क्षति हुन्छ । भारत र नेपालका बीचमा ५० वर्ष पुराना संरचना पुनर्निर्माणका लागि कुनै द्विविधा छैन । पटकपटक सहमति सम्झौता भएका छन् । प्रधानमन्त्रीको आसन्न भ्रमणमा यो विषय अत्यन्तै महत्वपूर्ण एजेण्डाका रुपमा प्रवेश गरोस् । ५० वर्षदेखि थुप्रिएका गण्डक र कोशीका समस्याको समाधानका लागि प्रष्ट खाका बाहिर आओस् ।’
उनले १५ मेगावाटको सूर्यपुरा पावरलप्लान्ट तीन मेगावाटमा मात्रै सञ्चालनमा आएको भन्दै उक्त आयोजनालाई पूर्ण क्षमतामा सञ्चालनका लागि पनि सरकारको ध्यानाकर्षण गराए । ‘यो पावरप्लान्ट पनि पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने ।
नेपाल र भारत सरकारबीचको गण्डक सिंचाइ तथा जलविद्युत् आयोजना सम्झौता बमोजिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ सूर्यपुरामा १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत निर्माण भएको हो तर उक्त परियोजनाको क्षमता १५ मेगावाट भएपनि अहिले ३ मेगावाटमात्रै विद्युत उत्पादन हुने गरेको छ ।