News in Nepali

एफपीओ कर विवादको दीर्घकालीन समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) को प्रिमियम रकममा करको विवादमा दीर्घकालीन समाधान खोज्न प्रतिवद्धता जनाएका छन् । नेपाल उद्योग परिसंघ र नेपाल बैकर्स संघले संयक्त रुपमा एफपीओमार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णयले पारेको असरकाबारे ध्यानाकर्षण गराएका थिए ।

छलफलमा प्रधनमन्त्री दाहालले उक्त विषयमा छलफल गरेर दीर्घकालीन समाधानको लागि पहल गर्ने बताएका हुन् । पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएका केही कम्पनी तथा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो चुक्तापूँजी वृद्धि गर्न एफपीओ जारी गरेका थिए ।

त्यस समयमा यसरी वृद्धि गरिएको एफपीओमा कर लगाइएको थिएन । तर, महालेखापरीक्षकको कार्यालयले ५८औं वार्षिक प्रतिवेदनमार्फत विभिन्न पब्लिक लिमिटेड कम्पनीले पुँजी वृद्धि प्रयोजनका लागि जारी गरेको एफपीओमा कर लाग्ने ठहर गर्दै ती कम्पनीबाट कर असुल गर्नुपर्ने जनाएको थियो ।

नेपालको निजी क्षेत्रले नेपाल सरकारले कानुन बनाइ तोकेका कर समयमै चुक्ता गरी राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेका दाबी उनीहरुले गरेका छन् । तर, कर कानुनमा व्यवस्था नभएको विषयमा करारोपण गर्ने विषयले लगानी प्रबद्र्धन गर्ने तथा नेपालको अर्थतन्त्रको आकार बढाउने सरकारको नीतिमा नकारात्मक असर पुग्ने बुझाइ निजी क्षेत्रको रहेको सीएनआईले जनाएको छ ।

एफपीओमार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय कार्यान्वयनले नेपालमा निजी क्षेत्रद्धारा प्रवर्द्धित उद्योग तथा व्यवसाय लिमिटेड कम्पनीमा रुपान्तरण नहुने परिसंघले जनाएको बताएको छ ।

Tags

छुटाउनु भयो कि ?