प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संवैधानिक परिषद् बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने सहमति भएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता ओली निवास बालकोटमा बसेको सोमबार बिहानको बैठकमा उक्त सहमति भएको हो । बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीले प्रधानन्यायाधीशको स्थायी नियुक्तिको संवैधानिक प्रक्रियाका लागि पहल गर्नुभयो । प्रधानमन्त्रीले कांग्रेस सभापति र प्रमुख प्रतिपक्षी दलका नेताबीच व्यापक छलफल भएको छ । संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीशको विषयमा निर्णय गरेर अगाडि बढ्ने सहमति भएको छ ।’
सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा रहेको लामो समय भएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्रीसहित शीर्ष नेताहरूबीच यो सहमति भएको हो । अब प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बस्ने भएको हो ।
त्यस्तै, बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको लेखकले बताए ।