धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरे पहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गएराति भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्।
सुपप्र ०१००१ ज १४२३ नम्बरको जिप दुर्घटनामा घाइते भएका चुरे गाउँपालिका– ६ का १८ वर्षीय भानु ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए। उपचारका लागि धनगढी ल्याउने क्रममा ठगुन्नाको बाटोमै मृत्यु भएको हो।
दुर्घटनामा चुरे गाउँपालिकाकै प्रकाश धामी, हरिश धामीसहित तीन विद्यार्थीसमेत घाइते भएका छन्। घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ।
झन्डै ४५ किलोमिटरको दूरीमा रहेको अत्तरियास्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा एसइई परीक्षा दिएर घरतर्फ जाँदै गरेका उनीहरू जिप दुर्घटनामा परेका बताइएको छ। मृतक र घाइते चुरे गाउँपालिकाको मलकटेश्वर माविमा अध्ययनरत विद्यार्थी हुन्।