राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले घुस मागेको अडियो सार्वजिनक भएपछि सांसद श्रेष्ठलाई पार्टीले निलम्बन गरेको छ ।
श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछानेलाई दुई करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग घुस मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले अडियो सार्वजनिक भएकाले तत्कालका लागि सांसद र पार्टी सदस्यबाट निलम्बन गरिएको जानकारी दिए । यसबारेमा महामन्त्री मुलुक ढकालका तर्फबाट आधिकारिक विज्ञप्ति जारी हुने रास्वपाले जनाएको छ ।
अडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईंलाई सुनाएका छन् ।
उनले प्रसाईंसँग दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । उनले तत्काल एक करोड भए पनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईंलाई सुनाएका छन् ।
प्रसाईंले दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने तर पछि आफ्नो काम गरिदिनुपर्ने सर्त राखेका छन् ।