प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वमाओवादी नेता लेखराज भट्टनिवासमा पुगेका थिए।
आइतबार सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका लागि प्रधानमन्त्री प्रचण्ड कञ्चनपुर आउने क्रममा कैलालीको अत्तरियास्थित लेखराज भट्टको घरमा पुगेका हुन्।
धनगढी एयरपोर्टबाट प्रधानमन्त्री लेखराज भट्टको निवासमा पुग्दा पूर्वमन्त्रीसमेत रहेका लेखराज भट्ट, उनका भाइ गोकर्ण भट्ट, धर्मपन्तीसहितले स्वागत गरेका थिए।
विगतका वर्षहरूझैँ यसपटक प्रचण्ड र लेखराजबीच भएको भेटघाटले राजनीतिक वृत्तमा अर्थ राखेको छ। सुरुवातमा आँगनमा स्वागतपछि प्रचण्ड र लेखराजबीच वान टु वान वार्ता भएको छ।
पूर्वमाओवादी नेता तथा पूर्वमन्त्री लेखराज भट्टकाे गेटास्थित निवासमा प्रचण्डले सञ्चारकर्मीले राखेकाे जिज्ञासाकाे जवाफ दिँदै भने, ‘यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ। यहाँमाथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने–बस्ने गर्थेँ। त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो। बाँकी कुरा, लेखराजजी राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भइहाल्यो।’
जनयुद्धकालमा सुदूरपश्चिमकै कमान्डर भएर काम गरेका लेखराज नेकपा एमाले र माओवादी एकीकरण हुँदा ओलीतिरै लागेका थिए। त्यसयता प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र लेखराजबीच भेट भएको थिए।
एमाले केन्द्रीय सचिवको जिम्मेवारीमा रहेका नेता भट्टले पूर्ववत् सहकर्मी प्रचण्डलाई आफ्नै निवासमा स्वागत गरेको यो राजनीतिक परिघटनाले महत्व राखेको एमाले–माओवादी नेताहरूले बताए। माओवादी नेताहरुले एमालेमा प्रवेश गरेका लेखराज भट्टलाई एमालेभित्र समस्या हुन थालेपछि फर्किनका लागि तयारी भएको प्रतिक्रिया दिए। यता नेकपा एमाले नेताहरुले राजनीतिक संस्कारभित्रको भेटघाट समान्य भएको धारणा अघि सारेका छन्।