नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन अन्तरगत मनोनयन दर्ता शुल्कबाट १ करोड १९ लाख २५ हजार रुपैयाँ उठेको छ । आगामी चैत २९ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्य पदका जम्मा ११८ जना उम्मेदवारबाट महासंघले १ करोड १९ लाख २५ हजार रुपैयाँ शुल्क उठाएको हो ।
महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा ५ लाख रुपैयाँ शुल्क तोकिएको थियो । जसअनुसार वरिष्ठ उपाध्यक्ष पदमा ३ जनाले उम्मेदवारी दर्ता गराउँदा जम्मा १५ लाख रुपैयाँ उठेको छ । तीन जना उम्मेदवारमध्येबाट एक जना निर्वाचित भई ‘वेटिङ प्रेसिडेन्ट’का रूपमा रहनेछन् ।
यस्तै, उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख र सदस्य पदका उम्मेदवारले ७५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था छ । निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गराएका ८ जनामध्येबाट ३ जना उपाध्यक्ष निर्वाचित हुनेछन् । महासंघको विधानमा मनोनयन दर्ता गराएपछि उम्मेदवारी फिर्ता लिएपनि मनोनयन शुल्क फिर्ता नहुने व्यवस्था छ ।
उपाध्यक्ष पदमा जिल्ला–नगर, वस्तुगत र एसोसिएटतर्फ गरी ८ जनाले उम्मेदवारी दर्ता गराउँदा ३ लाखका दरले २४ लाख रुपैयाँ उठेको छ । एसोसिएटतर्फको उपाध्यक्षका लागि भरत आचार्य र ज्योत्सना श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । भरत आचार्य अन्जान श्रेष्ठ र उमेशलाल श्रेष्ठ समूहबाट साझा उम्मेदवारका रुपमा अघि बढेका छन् भने ज्योत्सना रामचन्द्र संघई समूहबाट एसोसिएट उपाध्यक्ष बनेकी छिन् ।