आइसिसी विश्वकप क्रिकेट लिग– २ को त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नामिबियाका माइकल भान लिङगेनले शतक पूरा गरेका छन्। उनले एक सय ३७ बलमा एक सय ३३ रन बनाएका हुन्।
आइसिसी विश्वकप क्रिकेट लिग– २ को त्रिकोणात्मक एकदिवसीय सिरिज आजदेखि सुरु भएको छ। घरेलु मैदानमा सुरु भएको खेलमा नेपालले पहिले फिल्डिङ गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो। अहिले जारी खेलमा ४८ ओभर समाप्त हुँदा नामिबियाले ६ विकेट गुमाएर दुई सय ६४ रन बनाएको छ।
नेपालले आफ्नो दोस्रो खेल स्कटल्यान्डसँग फागुन ५ गते खेल्नेछ । सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर अंकतालिकाको छैटौँ स्थानमा रहेको छ। यता नामिबिया ३० खेलमा ३७ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा रहेको छ।
यसैगरी, स्कटल्यान्ड ३२ खेलमा ४६ अंकसहित शीर्ष स्थानमा छ भने ओमान ३६ खेलमा ४४ अंकसहित दोस्रो स्थानमा छ। ३६ खेलमा ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा भने पाँचौँ स्थानको युएईको २६ खेलमा २७ अंक छ। सातौँ स्थानको पपुवान्युगिनीको २८ खेलमा पाँच अंक रहेको छ। नेपालले आज सन्दीप लामिछानेलाई पनि मैदानमा उतारेको छ।