शनिबार भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता प्रतियोगितामा रुपन्देहीका कवि यज्ञप्रसाद न्यौपानेको कविता ‘असहमतिको दस्तावेज’ सर्वोत्कृष्ट भएको छ । कवि भूपि शेरचनको ८७ औं जन्म जयन्तीको अवसरमा आयोजना गरिएको उक्त कविता प्रतियोगितामा न्यौपानेको कविता सर्वोत्कृष्ट भएको हो । यो संगै कवि न्यौपाने ४० हजार ७८ रुपैयाँ नगद पुरस्कार पाएका छन् । प्रतिष्ठानका कुलपति तथा महानगपालिकाका मेयर रेनु दाहालको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
त्यसैगरी नुवाकोट ककनीका सुजन थपलियाको कविता ‘आमा’ उत्कृष्ट र काठमाडौं बनस्थलीकी राधिका कल्पितको ‘पेन्सन’ कविता उत्तम भए । उत्कृष्टले ३० हजार ७८ र उत्तम ले २० हजार ७८ रुपैयाँ नगद पुरस्कार पाएका छन् । पाल्पाका जनक कार्कीको कविता ‘चिहान खनिरहेको मान्छे’ र तनहुँकी नारायणी अधिकारीको कविता ‘दुर्गा भवानी उठ’ले प्रोत्साहन पुरस्कार स्वरुप जनही १० हजार ७८ रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा देशका ४३ जिल्लाबाट ११५ जना कविहरुको कविता प्रतिष्ठानलाई प्राप्त भएको थियो । तीमध्ये १५ जनाको कविता मात्रै वाचनका लागि छनोट गरेर शनिबार पुरस्कृत गरेको बताइएको छ ।