टप खबर

दार्चुलामा बाढी, १ को मृत्यु, ६ जना बेपत्ता

Lumbinikhabar Online

शुक्रबार रातिदेखि परेको अविरल वर्षाले जिल्लाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा धनजनको क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दका अनुसार करिब डेढ दर्जन घर बग्नुका साथै छ जना बेपत्ता भएका छन् । एकको शव फेला परेको छ । जिल्लाको महाकाली नगरपालिका–३ डुङ्गरी क्षेत्रमा एकै घरका चार जना धनसिंह, मानमती, दीपक, दिनेश कार्की बेपत्ता भएका छन् ।

जिल्लाको नौगाड गाउँपालिकामा ३५ वर्षीय चिमणे ठगुन्नाको मृत्यु भएको र एक जना बेपत्ता हुनुका साथै दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा नौगाड गापाका कासी ठगुन्ना र रम्बा ठगुन्ना रहेका छन् । घाइतेलाई उपचारको लागि हेलिकोप्टरमार्फत लैजाने व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । उक्त जोखिम क्षेत्रमा सुरक्षाकर्मीले राति नै मान्छे अन्यत्र सारेको छ । बाढीले दर्जनाैँ घर बगाउनुका साथै लास्को खोलाको झोलुङ्गे पुल पनि बगाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार रातिदेखि अहिलेसम्म उद्धार कार्य जारी नै रहेकाले क्षतिको पूरै विवरण प्राप्त हुन बाँकी रहेको छ ।

Tags

छुटाउनु भयो कि ?